बेलायत । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले अब हिज–हर रोयल हाइनेस उपाधि प्रयोग गर्न नपाउने भएका छन् ।
अब उनीहरुले पब्लिक फन्डको रकम पनि नपाउने भएका छन् । राजदरबारले शनिबार सो कुराको घोषणा गरेको हो । साथै सो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व पनि नगर्ने राजदरबारले जनाएको छ । ड्युक एण्ड डचेस अफ ससेक्स (ह्यारी दम्पती) को लागि छुट्याइएको करदाताको २ दशमलब ४ मिलियन पाउण्ड अब उनीहरुको बेलायती परिवारमा नै रहने जनाइएको छ ।
गत सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीचको बैठकपछि राजदरबारको पछिल्लो भनाइ आएको हो । हालै सो दम्पतीले वरिष्ठ शाही परिवारबाट बाहिरिने घोषणा गरेको थियो । बेलायती महारानीले धेरै महिनासम्मको कुराकानी र हालैको छलफलबाट आफ्नो नाति र उनको परिवारको बारेमा रचनात्मक र सहयोगी बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेको राजदरबारको वक्तव्यमा उल्लेख छ ।
उनले वक्तव्यमा ह्यारी, मेघन र आर्ची आफ्नो परिवारको धेरै माया गरिएका सदस्य सधैं रहने समेत जनाएकी छन् ।





