झापा । झापा जिल्लाको झापा गाउँपालिकामा सुविधासम्पन्न मदर्सा निर्माण गरिएको छ ।
रहमा इन्टरनेशनल कुवेतको आर्थिक लगानीमा नेपाल डेभलप्मेन्ट सोसाईटीले मदर्सा निर्माण गरेको हो । सो गाँउपालिकाको वडानम्बर–५ पन्थापाडामा निर्माण गरिएको मदर्साको प्रतिनिधि सभा सदस्य एलपी सावाँ लिम्बु र नेपाल डेभलप्मेन्ट सोसाईटीका अध्यक्ष मौलाना नजरुल हसन फलाही लगायतले उद्घाटन गरेका हुन् ।

झण्डै साढे २५ सय स्क्वायरफिटमा निर्माण गरिएको मदर्सामा ५ वटा सुविधासम्पन्न कक्षा कोठा र शौचालय छन् । अति विपन्न समुदायको वसोवास रहेको सो क्षेत्रमा ४१ लाख ५० हजारको लगानीमा मदर्सा निर्माण गरिएको सोसाईटीका अध्यक्ष फलाहीले बताए । नवनिर्मित मदर्साकाका लागि आवश्यक पर्ने डेस्क, ब्रेन्च र ब्लाकबोर्ड लगायतका आवश्यक सबै शैक्षिक सामाग्री समेत उपलब्ध गराइएको उनले जानकारी दिए ।
सो अवसरमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य लिम्बु, इश्लामिक संघ नेपालका अध्यक्ष मौलाना खुर्शीद आलम फलाही, धर्मगुरु गुलाम रसुल फलाही र इस्लामिक संघका प्रदेश अध्यक्ष जुल्फिकार अली लगायतले सामुदायीक विकासको पहिलो आधार शिक्षा रहेको बताउँँदै गुणस्तरीय शिक्षामा जोड दिए ।
सरकारी सिलेबससंगै अरबिक उर्दु अध्यापन हुने मदर्सामा १ सय ५० विद्यार्थीले अध्ययन गर्न सक्ने जनाइएको छ ।





