धनकुटा । धनकुटामा जारी सहिद रिदामाहाङ—रामलिहाङ आठपहरिया महिला गोल्डकप फुटबलको उपाधिका लागि दुई विभागीय टिम आमनेसामने हुँदैछन् ।
शुक्रबार हुने फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि भिड्दैछन् । खेल धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । एपिएफ सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । आमीर्ले रौतहट फुटबल क्लबलाई ६–० को अन्तरले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको हो । एपिएफ सातौँ प्रधानसेनापति कपको च्याम्पियन टोली हो ।
यस्तै, आर्मी उपविजेता टोली हो । त्यसैले दुई टिमको खेल रोमाञ्चक हुने खेलप्रेमीहरु बताउँछन् । सातौँ प्रधानसेनापति कपको फाइनलमा एपिएफसँग पराजित आर्मी धनकुटामा हारको बदला लिने सुरमा छ । यता एपिएफ जितलाई निरन्तरता दिने दाउमा छ । एपिएफका प्रशिक्षक जनक सिंहले अहिलेसम्म आर्मीसँग भएका सबै खेलमा जित्दै आएकाले यसपटक पनि जित निकाल्ने दाबी गरे । सबै खेलाडी उत्कृष्ट भएकाले उपाधि कब्जा हुनेमा ढुक्क रहेको उनले बताए । यता आर्मीका प्रशिक्षक चक्र तामाङले हालसम्मको नतिजा उल्ट्याने बताउँछन् । यो प्रतियोगितामा खेलाडीले राम्रो प्रदर्शन गरेको हुनाले उपाधि आफ्नो टिमले कब्जा गर्ने उनको दाबी छ ।
प्रधानसेनापति कप र महिला राष्ट्रिय लिगमा एपिएफले बर्चश्व काय राख्दै आएको छ । उसले सातौं संस्करणसम्म भइसकेको प्रधानसेनापति कपमा पाँचपटक उपाधि चुमिसकेको छ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित ट्रफी र उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टीम एपिएफ, नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबका साथै रौतहट फुटबल क्लब, बसाहा राइजिङ युथ क्लब उदयपुर, बराहाक्षेत्र फुटबल क्लब चतरा सुनसरी, मोरङ फुटबल क्लब मोरङ र आयोजक धनकुटाको सहभागिता रहको थियो ।





