काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ ।
भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह आयोजना हुने भएको हो। नेपालको बारेमा जानकारी दिने, प्रचारप्रसार गर्ने एवं नेपाली तथा विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आजोजना गर्न लागिएको कार्यक्रम संयोजक रघु दाहालले जानकारी दिए ।
‘थर्ड आई ग्रुप’ द्वारा सन् २०२० मे २४ मा आयोजना हुने उक्त कार्यक्रममा कलाकार, पत्रकार तथा प्रस्तोताले विभिन्न प्रस्तुति दिने छन् । साथै साहित्यकारले साहित्यिक रचनामार्फत नेपालका बारेमा जानकारी गराउने जनाइएको छ । कार्यक्रममा उत्कृष्ट केही कलाकार, पत्रकार, साहित्यकार र खेलाडीलाई सम्मान गरिने छ । सो कार्यक्रममा नेपालबाट करीब ६० कलाकार, पत्रकार, सहित्यकार र खेलाडीको सहभागिता हुनेछ ।
विदेशमा हुने धेरै कार्यक्रमका बारेमा नकारात्मक टीकाटिप्पणी भइरहेका बेला आफूहरुले आयोजना गर्न लागेको कार्यक्रम रचनात्मक, उपलब्धिमूलक, सन्तुलित र विश्वसनीय हुने आयोजक थर्ड आईका निर्देशक विकास देवकोटाले जानकारी दिए । उनले यो कार्यक्रम आर्थिक लाभका लागि नभई नेपालको पर्यटन प्रवर्द्धन गर्न र सम्बन्धित क्षेत्रमा योगदान गरेकाहरुलाई प्रोत्साहन गर्नका लागि आयोजना गरिएको बताए ।





