पीपीएलमा चितवन राइनोजको लगातार तेस्रो जित


६ पुष २०७६, आईतवार १३:३९ मा प्रकाशित

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार तेस्रो जित हात पारेको छ ।

आइतबार भएको खेलमा चितवनले विराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै पीपीएलमा आफ्नो अपराजित यात्रा कायम राखेको हो । पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर मात्रै १सय२८ रन बनाउन सक्यो ।

विराटनगरलाई १ सय २८ रनमा रोक्न चितवनका करण केसी र भुवन कार्कीले उत्कृष्ट बलिङ गरे । विराटनगरका लागि लोकस बमले ६२ रन बनाएपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ३६ बलमा ५ छक्का र ५ चौका प्रहार गरेका थिए । यस्तै, पुनित मेहराले २४ रन र नोमन खानले १६ न बनाएका थिए । विराटनगरविरुद्ध चितवनका करण केसी र भुवन कार्कीले ३ विकेट लिए भने रोहन मुस्तफाले २ र सन्नी पटेलले १ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको चितवनले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

चितवनका लागि आरिफ शेखले ३९ रन बनाए भने, कप्तान पारस खड्काले ३५ रन, सन्नी पटेलले २७ रन, बाबर हायतले २५ रन बनाएका थिए । चितवनविरुद्ध विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहम्मद जायद खानले समान एक–एक विकेट लिएका थिए । लगातार तिन खेलमा जित हात पारेको चितवन ६ अंकसहित शीर्ष स्थानमा यथावत छ भने विराटनगर तीन खेलमा २ अंकसहित चौथो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here