इटहरी । बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबबा अर्थात कृष्णबहादुर गिरीको बयान सकिए पनि थप अनुसन्धानको लागि पुन सात दिन थुनामै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
सोमबार पछिल्लो ३ दिनको म्याद सकिएपछि जिल्ला अदालत सुनसरीले फेरि अनुसन्धानका लागि भन्दै पुनः ७ दिनको म्याद थपेको हो । आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा छनबिन भइरहेको बाबाको बयान भने सकिएको प्रहरीले बताएको छ । प्रहरीले कृष्णदासलाई अस्पतालमै अनुसन्धान गरिरहेको छ । उनले हिरासतलाई छलेर अस्पतालको सुविधासम्पन्न कोठामा बस्दै आएका छन् ।
पक्राउ पर्ने छनक पाएदेखि नै बिरामी भएको भन्दै अस्पताल बसेका गिरिलाई प्रहरीले आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्न पाएको छैन । प्रहरीलाई उपचारको नाममा बयान दिन आनाकानी गरेका गिरीले अदालतमा पनि बोलेका छैनन् । खास के बिरामी भनेर यकिन हुन नसके पनि अस्पताल प्रशासनकै सहयोगमा उनी सुविधासम्पन्न कक्षमा छन् । गिरीको बयान गर्नेदेखि अदालत लैजाने विषयमा पनि अस्पताल प्रशासनले प्रहरीलाई शारीरिक कारण देखाउँदै बयानमा अफ्ट्यारो पार्ने गरेको छ ।
प्रहरीले गिरीको मुद्दा आजै बुझाउने तयारी गरेको थियो । तर, अस्पतालको सुधामा बस्दै आएका गिरि पुन अस्पताल नै बस्न मन गरेपछि पुन म्याद थपेको हो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।





