खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठकोे मुस्ली प्रहारबाट हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले गैरीगुठका २७ वर्षीय रमेश राईको मृत्यु भएपछि फरार भएकालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकोे हो । फरार अभियुक्तहरुलाई शनिबार विशेष सुराकीको आधारमा प्रहरी चौकी हर्कपुर ओखलढुंगाको सहयोगबाट नियन्त्रणमा लिई आईतबार सार्वजनिक गरिएको छ ।
गत बिहीबार राती साढे १० बजे सोही ठाउँका २७ वर्षीय भबिन राई, २१ वर्षीय अशोक राई र २५ वर्षीय बलराज राईले रमेशलाई मुस्ली प्रहार गरेका थिए । उनीहरुको मुस्ली प्रहारबाट घाईते भएका रमेशको हलेसीकै एक क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो । भूकम्प पुनर्निर्माणको घर र्निर्माण सम्बन्धी काम गरेर फर्कदै गरेका रमेशसँग बाटोमा भेट भएपछि सामान्य विषयमा झगडा हुँदा उनीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ ।





