काठमाडौं । एपेन्डिसाईटिसको शल्यक्रिया गरी हिजो अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै दैनिक प्रशासनिक काम गर्ने भएका छन् ।
चिकित्सकहरुले धेरै दौडधुप नगर्न सुझाएपछि बालुवाटारमै प्रधानमन्त्रीलाई कार्यसम्पादनमा सहज बनाउन आवश्यक प्रबन्ध मिलाइँदैछ । ओलीले आजैदेखि बालुवाटारबाटै अत्यावश्यक तथा प्रशासकीय काम शुरू गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीको आज कुनै औपचारिक कार्यक्रम नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रधानमन्त्रीले आज बालुवाटारमै सामान्यदेखि अत्यावश्यक भेटघाट गर्नेछन् ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गरी प्रधानमन्त्री ओली १० दिनपछि बिहिबार डिस्चार्ज भएका थिए । एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण फैलिएपछि गत मंसिर १० गते प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएर बालुवाटारमा आराम गरिरहेका ओली चिकित्सकको निगरानीमै छन् ।





