पुर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीहरुद्वारा तोडफोड


१९ मंसिर २०७६, बिहीबार १९:११ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित पुर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

पुर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी र विद्यार्थी मैत्री नभएको आरोप लगाउदै आन्दोलित विद्यार्थीहरुले विराटनगर–२ शनिहाटमा रहेको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयको परीक्षा नियन्त्रक र सह नियन्त्रकको कार्यालय सहित प्रशासन र लेखाशाखामा तोडफोड गरेका छन् । तोडफोडबाट ती शाखाका झ्यालका शिशा र फर्निचरहरुमा क्षति पुगेको परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ ।

आन्दोलित विद्यार्थीहरुले विभिन्न मागराख्दै परीक्षा नियन्त्रकलाई यसअघिनै ज्ञापनपत्र समेत बुझाइसकेका छन् । विद्यार्थीहरुले बुझाएका ज्ञापनपत्रमा हरेक सेमेष्टरमा चान्स एक्जाम गर्नुपर्ने, परीक्षाफल निष्पक्ष तरिकाले चेकजाँच गर्नुपर्ने, रिचेकिङमा लाग्ने ५ हजार दस्तुरलाई ५ सय बनाउनुपर्ने, परीक्षाफलमा लापरवाही गर्ने शिक्षक र कर्मचारीलाई बर्खास्त गर्नुपर्ने, रिचेकिङको व्यवस्थागरि परीक्षाफल परिवर्तन भएमा परिवर्तीत परीक्षाफल लागु गर्नुपर्ने र उत्तरपुस्तिका कोडिङगरि मात्र चेक गर्न दिने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यता सो बिषयमा प्रतिक्रिया दिदैँ पुर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका परीक्षा नियन्त्रक प्रा.डा. सुर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु पियुको निति अनुरुप सम्बोधन गर्न हरदम तयार रहेको प्रतिक्रिया दिए । उनले क्याम्पसको माध्यमबाट प्रक्रियागतरुपमा विद्यार्थीहरुले आफ्ना समस्या लिएर आए नियमसंगत ढंगले सम्बोधन गर्न तयार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here