बिर्तामोड । उपचारको क्रममा एक महिलाको मृत्यू भएपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा तनाव भएको छ ।
अस्पतालमा क्षति हुन नदिन प्रहरीले कडा सुरक्षा दिएको छ । कनकाई नगरपालिका –७ कालिमुडाकी ५१ वर्षीया फुलमाया तामाङको उपचारको क्रममा आज दिउँसो मृत्यू भएको थियो ।बिरामी तामाङ डराइरहेको अवस्थामा जबरजस्ती इन्डोस्कपी गर्दा मृत्यू भएको भन्दै पीडित पक्षले अस्पतालमा नाराबाजी गरेका छन् । मृगौलामा समस्या भएर उपचारमा आएकी तामाङको इन्डोस्कपी गर्ने क्रममा मृत्यू भएको पीडित पक्षले दावी गरिरहेका छन् । उनीहरुले अस्पतालको लापरवाही भएको दावी गरेका छन् ।
बिर्तासिटीमा अहिले प्रहरीको बाक्लो परिचालन गरिएको छ भने पीडित पक्षको पनि भीड बढीरहेको छ । अस्पतालमा संभावित घटना हुन नदिन सतर्कता अपनाइएको प्रहरीको भनाई छ । घटनाका सन्दर्भमा पीडित पक्ष, अस्पताल प्रशासन र सरोकार पक्षका वबच छलफल चलिरहेको छ ।





