काठमाडौं । प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तहमा रहेको रिक्त पदको लागि जारी रहेको उपनिर्वाचनमा ५५ प्रतिशत मत खसेको छ ।
दिउँसो ३ बजेसम्म करिब ५५ प्रतिशत मत खसेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । छिटफुटबाहेक समग्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनको भनाइ छ । ३७ जिल्लामा रिक्त ५२ पदका लागि आज निर्वाचन भइरहेको छ । मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रले पनि भोट हाल्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
यसका लागि मतदाताको सूचीमा नाम भने भएको हुनुपर्नेछ । कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचनको मतदान जारी छ । त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचनको मतदान जारी छ ।
विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ । कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन्। त्यस्तै, भक्तपुर, बागलुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ । मतदान साँझ पाँच बजेसम्म रहनेछ ।





