काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलबिलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘ए’ को खेलमा लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा भएको खेलमा दोस्रो खेलमा नेपाललाई भारतले ३–० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट १५–२५ ले गुमाएको नेपालले दोस्रो सेटमा पनि राम्रो खेल्न सकेन । दोस्रो सेटमा नेपाल २५–१३ ले पराजित भयो ।
तेस्रो सेटमा नेपाल २५–१६ ले पराजित भएसँगै समूह चरणबाटै बाहिरियो । यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । प्रतिस्पर्धात्मक पहिलो खेलमा दुई पटक अग्रता लिएर पनि पराजित भएसँगै नेपालको सेमिफाइनल सम्भावन कठिन बनेको थियो । यो समूहमा भारत लगातार दुई खेल जितेर विजेता र बंगलादेश उपविजेताको रुपमा अन्तिम चारमा पुगेका छन् ।





