देउवाको आरोपः ओलीकै सहमतिमा भारतको नयाँ नक्सा


७ मंसिर २०७६, शनिबार १५:५३ मा प्रकाशित

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नेपाली भूभाग समेटिएको भारतको नक्सा आएको आरोप लगाएका छन् ।

शनिबार पोखरामा भएको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘भारतले ओलीसँग कुनै सम्झौता गरेरै नयाँ नक्सा गरेको हुनसक्छ,’ देउवाले भने, ‘नत्र नेपाली भूभाग मिचिएको प्रष्ट हुँदाहुँदै सरकारले किन उच्चस्तरको कुटनीतिक पहल गर्दैन । त्यही भएर केपी ओलीको सहमतिमा भारतले नक्सा जारी गरेको पुष्टि हुन्छ ।’ उनले वर्तमान सरकारले जनताको दुखहरु बिर्सेर ढाडसेक्ने गरी कर बढाएको आरोप लगाए । उनले ओली सरकार भ्रष्टचारी भएको पनि आरोप लगाए । ‘जनतालाई ढाड सेक्नेगरी कर थोपर्ने र भ्रष्टाचार कसरी गर्ने भन्नेबाहेक अहिलेको सरकारको ध्यान छैन,’ उनले भने ।

सरकारको अनावश्यक रवैया देखाएको भन्दै उपनिर्वाचनमा परास्त पार्न उनले मतदातालाई आग्रह गरे । ‘सरकार दिनदिनै जनविरोधी गतिविधि गर्न लागि परेको छ,’ उनले भने, ‘उपनिर्वाचन कांग्रेसलाई मतदान गर्नुस यो सरकारलाई थप भ्रष्टचारी हुनबाट जोगाउन कांग्रेस लागि परेको छ ।’ उनले उपनिर्वाचनमा कांग्रेसका उमेद्वार खेमराज पौडेललाई जिताए समग्र लोकतन्त्रको जित हुने पनि बताए ।

‘वर्षौंदेखि कास्कीका जनताको सेवा गरेका खेमराजजी अहिले तपाईँहरुको उम्मेदवार बन्नुभएको । मलाई विश्वास छ तपाईँहरुको मत मनबाटै उहाँलाई हुनेछ,’ उनले भने । कास्कीको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्न कांग्रेसका केन्द्रिय नेताहरु यतिबेला पोखरामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here