कांग्रेसद्वारा निर्वाचन आचारसंहिताविपरीतका क्रियाकलाप रोक्न माग


५ मंसिर २०७६, बिहीबार १९:०४ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिताविपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै आचारसंहिताविपरीत हुने क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसको ‘उपनिर्वाचन–२०७६, अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्नु सबै पक्षको दायित्व र कर्तव्य भएको जनाएको छ । मुलुकका ३७ जिल्लाका ५२ स्थान (प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, वडा अध्यक्ष ४३) मा उपनिर्वाचन हुँदैछ ।

समितिका संयोजक रमेश लेखकले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समय निरन्तर आचारसंहिताविपरीत सत्ताको दुरुपयोग गरी उपनिर्वाचनलाई प्रभावित गर्ने काम भइरहेको आरोप लगाए । उनले भने–‘उपनिर्वाचन हुने स्थानमा सरकार र सोसम्बद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचार–प्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्वकार्यक्रममा नभएका योजना, कार्यक्रम दिने, आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्नेलगायत क्रियाकलाप भएका छन् ।’ नेता लेखकले आचारसंहिताविपरीतका गतिविधि भविष्यमा नदोहोर्‍याउन सचेत गराएका छन् ।

निर्वाचन आयोगले गत कात्तिक ८ गतेदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता जारी गरेको छ । समितिले यसअघि गत कात्तिक २९ गते प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तसँग भेटघाट गरी आचारसंहिता उल्लंघनका घटना तत्काल रोक्न र भविष्यमा आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न लिखित ध्यानाकर्षणसमेत गराएको समिति संयोजक लेखकले जानकारी दिए । निर्वाचन आयोगले मंसिर १ गते आचारसंहिताको पालना र कार्यान्वयनका सम्बन्धमा प्रेस विज्ञप्तिमार्फत् सबै सरोकारवाला पक्षलाई निर्देशसमेत गरेको थियो ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य तथा पार्टीका सचिव अधिवक्ता केशव रिजाल सदस्यसचिव रहेको समिति गठन गरेको छ । उपनिर्वाचन हुने ३७ ओटै जिल्लामा पार्टीका जिल्ला कार्यसमितिका निर्वाचित सचिवको संयोजकत्वमा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ (डीएलए)का जिल्ला अध्यक्ष र एक महिलासहित पाँचजना रहने अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here