काठमाडौं । निवर्तमान श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले पुनर्गठित मन्त्रिमण्डलमा नपरे पनि थप ऊर्जा र प्रेरणासहित बाहिरिएको जनाएका छन् ।
निवर्तमान मन्त्री गोकर्ण विष्टले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै आफूले माहुरीझैँ खटेर काम गरेको बताएका छन् । ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र बेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ’ विष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु– थप ऊर्जा र प्रेरणाका साथ।’
सामाजिक सुरक्षा, वैदेशिक रोजगारीदेखि श्रममा ठगिएकालाई न्याय दिलाएर लोकप्रिय बनेका विष्टको बहिर्गमनप्रति धेरैलाई चित्त बुझेको देखिएको छैन । तैपनि, काम गर्न अवसर दिएको भन्दै विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद भने दिन छुटाएका छैनन् । ‘मन्त्रीको रूपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु’ उनले लेखका छन्, ‘सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद।’





