प्रदूषणका कारण नेपालमा दमरोगी बढ्दै, विश्वमा २५ करोड मानिस दमरोगी


४ मंसिर २०७६, बुधबार १२:३१ मा प्रकाशित

नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ ।

चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताए । प्रदूषणले उपत्यकामा दमरोग बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको उनले बताए । डा. पङ्गेनीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बालअस्पताल लगायतका अस्पतालहरूमा दमका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

डा. पङ्गेनीले सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको बताए । शिक्षण अस्पतालमा दैनिक ८० जनासम्म बिरामी आउने गरेका छन् । यसअघि भक्तपुरमा तीन वर्ष लगाएर गरिएको सर्वेक्षणमा समेत १५ प्रतिशत मानिसलाई दमरोग लागेको थियो ।

तथ्याङ्कअनुसार विश्वमा २५ करोड मानिस दमरोगी रहेको पाइएको छ । तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गरेको छ। यस्ता रोगीहरूमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक छन् । विश्व रोगभार सर्वेक्षण २०१६ ले नेपालमा नौ लाख ६० हजार मानिसमा दमका बिरामी रहेको जनाएको छ । विश्वमा प्रतिलाख जनसङ्ख्यामा तीन हजार छ सय दमखोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको सङ्ख्यामा छन् । त्यसैगरी नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने गर्दछ । त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुष दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ । डा. पङ्गेनीले दमखोकीका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढिरहेको जानकारी दिए ।

तथ्याङ्कअनुसार नेपालमा दमको समस्या अत्यधिक रहेको छ। दमखोकी रोग लागिसकेपछि निको नहुने हुँदा अस्वस्थ मानिसको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । डा. पङ्गेनीले ४५ वर्षमाथिका व्यक्तिलाई दमरोग लाग्न शुरु गर्ने बताए । बढी उमेरका मानिसमा दमखोकीको समस्या बढी हुने र पाका उमेरका मानिसको सङ्ख्या पनि थपिँदै गएकाले दमखोकीको बिरामी बढेका छन् ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. अङ्शेष ढुङ्गानाले प्रदूषणकै कारण दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो। उहाँले दम तथा श्वासप्रश्वास रोगको प्रमुख कारक तत्त्व धूमपान र वायु प्रदूषण मुख्य रहेको बताए । उनले धूमपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या रहेको जानकारी दिए । उनले २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here