नेकपा सचिवालय बैठकः मन्त्रिपरिषदबाट बाहिरिने मन्त्री र नयाँ नियुक्त हुने नेताबारे छलफल हुने


४ मंसिर २०७६, बुधबार ११:०७ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बस्न लागेको बैठकमा मन्त्रिपरिषदबाट बाहिरिने मन्त्री र नयाँ नियुक्त हुने नेताबारे छलफल हुने बताइएको छ । सुरुमा ९ बजेका लागि तय भएको बैठक ११ बजेका लागि सरेको थियो । ११ बजेबाट पनि सरेर साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषदमा हेरफेर गर्न लागेका छन् । उनले केही मन्त्रीलाई जिम्मेवारी मुक्त गरेर पार्टीका नेताहरूलाई मन्त्री बनाउने तयारी गरेका छन् । त्यस्तै केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने पनि प्रधानमन्त्रीको तयारी छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी दिएका थिए । उनले मन्त्रिपरिषदबाट हट्न लागेकाहरूलाई अन्यथा नलिन आग्रह गरेका थिए ।

उनले मन्त्रिपरिषद बैठकमा भनेका थिए, ‘मन्त्रिपरिषद पुनर्गठन गर्ने कुरा बाहिर धेरै चर्चा भयो । भोलि गर्छु होला मैले । कोही पर्नुहोला, कोही नपर्नुहोला । कसैको चेन्जफेन्ज होला । माइन्ड नगर्नुहोला । स्वाभाविक ढंगले लिनुहोला । नयाँ साथीहरूलाई पनि चान्स दिनुपर्छ, सिकाउनुपर्छ ।’ नयाँ नियुक्त हुने मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण ४ बजे गराउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here