हात्ती धपाउने विद्युतीय धरापमा परी झापामा फेरि एकजनाको मृत्यु


२ मंसिर २०७६, सोमबार ११:०३ मा प्रकाशित

झापा । हात्ती धपाउन गैरकानुनी रूपमा सामुदायिक वन, खेतबारी र घर वरिपरि राखिएको विद्युतीय धरापमा परी हात्ती होइन, झापामा मान्छेकै ज्यान गइरहेको छ ।

गत कात्तिक १६ मा हात्ती धपाउने विद्युतीय धरापमा परी बुद्धशान्ति गाउँपालिकामा मामा–भान्जाको मृत्यु भएको घटना सेलाउन नपाउँदै आइतबार साँझ मेचीनगरको धुलाबारीमा एक महिलाको मृत्यु भएको छ । विद्युतीय धरापमा परी मृत्यु हुनेमा मेचीनगर–९, धुलाबारीकी ५७ वर्षीया बुद्धिमाया तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार गाईबस्तु धपाउने क्रममा विद्युतीय धरापमा परी करेन्ट लागेर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

आफ्नै खेतबारीमा जङ्गली हात्ती धपाउन थापिएको विद्युतीय धरापमा महिला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । यता घटनाको विषयमा इलाका प्रहरी कार्यालय धुलाबारीले कानुनी प्रक्रिया पूरा गरी महिलाको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here