काठमाडौं । सरकारले भारतको अतिक्रमणमा परेको दार्चुलासहितका क्षेत्रमा सीमा सुरक्षा बल थप्ने भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले सीमा समस्या समाधान गर्न सरकारले पहलकदमी लिइरहेको बताउँदै आफ्नो भूमि रक्षाका लागि सीमा सुरक्षा बल थप्न लागिएको जानकारी दिए । ‘सीमा समस्या हल गर्न सिंगो राष्ट्र एक भएको छ । सीमा सुरक्षाको जिम्मेवारी गृहमन्त्रालयको हो’, उनले भने, ‘दार्चुलामा अहिले पनि सीमा सुरक्षा बल छ । तर विवादित क्षेत्रमा सीमा सुरक्षा बल राख्न सकिएको छैन ।’ गृहमन्त्री बादलले भारतबाट भएको नेपाली भूमि अतित्रक्रमणको समस्या आगामी दिनमा हल गरेसँगै लिम्पियाधुरा र कालापानीमा पनि सीमा सुरक्षा बल राख्ने जानकारी दिए । ‘सीमा सुरक्षा आउट पोस्ट विस्तार गर्ने योजना छ ।
सीमा सुरक्षा हल गर्न सचिवस्तरीय छलफल भइरहेको छ’, उनले भने, ‘नेपाल–भारत प्रवुद्ध समूले पनि समस्या समाधानको कोशिश गरिरहेको छ । तर अहिलेलाई दार्चुलासहितका जिल्लामा सीमा सुरक्षा बल तत्काल थप्दैछौँ।’ तर गृहमन्त्री बादलले कतिवटा जिल्लाका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल खटाउने भन्ने कुरा खुलाएनन् । सरकारले कम्तीमा २० स्थानमा सीमा सुरक्षा बल थप्ने जानकारी यसअघि नै दिइसकेको छ ।





