आर्थिक अभावमा अस्पतालको जीवन बिताइरहेकी एलिशा मगरलाई सहयोग गर्न अपिल


२० कार्तिक २०७६, बुधबार १८:५६ मा प्रकाशित

झापा । सुत्केरी बेथाले थलिएकी श्रीमतीलाई बिएण्डसी अस्पतालमा भर्ना गरी पैसाको जोहो गर्न बाहिरिएका श्रीमान् नफर्किएपछि कनकाई नगरपालिका ४ कोटीहोमकी एक महिला १० दिनदेखि अस्पतालमै बस्न बाध्य भएकी छन् ।

तिहारका कारण अन्य अस्पतालहरुमा चिकित्सक नभेटेकाले बिर्तामोडको बिएण्डसी अस्पतालमा कात्तिक ९ गते भर्ना गरिएकी एलिशा मगरको अपरेशन गरी भोलिपल्टै बच्चा निकालिएको थियो । आफूसँग भएको १४ हजार ५ सय रुपैयाँ धरौटी राखेर अस्पताल भर्ना भएपनि थप रकम जुटाउन नसक्दा उनी अहिले अस्पतालमै बन्धक बनेकी छिन् ।ज्यालादारी काम गरेर परिवार पाल्दै आएका एलिशाका श्रीमान अशोक मगर फूपूबाट रकम लिएर आउँछु भनी निस्किएको सातादिन बितिसक्दा पनि परिवार र आफन्तको सम्पर्कमा नरहेको उनकी दिदी सपना मगरले बताइन् ।

नवजात शिशु र सुत्केरी एलिशाको उपचारका शिलशिलामा अस्पतालमा एक लाख रुपैयाँ हाराहारी र औषधी पसलमा साढे २२ हजार बाँकी रहेपछि अशोककी दिदि सपना अहिले अस्पतालमा बन्धकजस्तै बन्नु परेको सामाजिक अभियन्ता भूपाल बस्नेत बताउँछन् । गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्था बिर्तामोडले एलिशा मगरको उपचारमा लागेको खर्च अस्पताललाई तिरीदिन झापामा आर्थिक सहयोग संकलन गर्ने भएको छ । आज सो संस्थाले बिर्तामोडमा पत्रकार सम्मेलन गरी संस्थाको ब्यानरसहित विभिन्न ठाउँमा पुगेर एलिशालाई उपचार गर्दा अस्पतालमा लागेको खर्च तिरिदिन भोलिदेखि आर्थिक संकलन अभियान चलाउने भएको छ ।

संस्थाका अध्यक्ष भूपाल बस्नेतले एलिशाको घर भएको क्षेत्र कनकाईको कोटीहोमसहित सुरुङ्गाबजार, दुर्गापुर, चारपाने, बिर्तामोडका व्यापारी, व्यवसायी, समाजसेवी दाताहरुसँग सहयोगको हात फैलाउने बताएका छन् । सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारका सदस्य सपना मगरको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here