झापा । झापा बिर्तामोडका व्यवसायीले भद्रपुर सडक खण्डमा आज करिब एक घण्टा आवतजावत अवरोध गरेका छन् ।
सडक निर्माणमा ढिलाइ भएको भन्दै उद्योग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा बिर्तामोड–भद्रपुर सडक खण्ड करिब एक घण्टा सम्म अवरोधसहित चक्काजाम गरिएको हो । यवसायीले निर्माणलाई तत्काल सम्पन्न गर्न माग गर्दै विरोध स्वरुप चक्का जाम गरेका हुन् । सडक निर्माणमा लापरवाही हुँदा व्यापार व्यवसायमा समेत असर पु¥याएकोले व्यवसायी सडकमा निस्केको बताईएको छ । विरोध सभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ प्रदेश सदस्य बलराम कार्कीले सडक निर्माण कार्य लामो समय देखि बन्द रहेकाले अब चुप लागेर नबस्ने बताए । उनले सात दिन भित्रमा निर्माण कार्य शुरु नगरे नगरपालिकामा ताला चाबी लगाउने बताए ।

त्यस्तै स्थानीय व्यवसायी विजय डालमियाले पनि विभिन्न माध्यमबाट निर्माण व्यवसायीलाई दबाब दिदै आएको तर सुनुवाई नभएपछि सडकमा उत्रीन बाध्य भएको बताए । यता उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराईले यो कार्यक्रम प्रारम्भिक मात्र भएको बताए । आउने सात दिन भित्र निर्माण कार्य अघि नबडाए कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिए । विरोध सभालाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिका वडा नं ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौलाले सडक निर्माणमा भएको ढिला सुस्ती प्रती आफु गम्भिर भएको बताए । २१औं सताब्दीमा आएर पनि ४ किलो मिटर बाटो बनाउन दुई वर्ष लाग्नु भनेको लाज मर्दो कुरा भएको उहाँको भनाई छ ।
विरोध सभा पछि संघले विर्तामोड नगरपालिकामा, जिल्ला समन्वय समिति झापामा र सडक डिभिजन कार्यालयमा गरि तिन ठाउँमा ज्ञापन पत्र बुझाउने बताएको छ । आशिष – प्रेरा जेभीले निर्माण गरिरहेको भद्रपुर सडक खण्डमा ढिलासुस्ती भइरहेको छ । सो कम्पनीले निर्माण अधुरो छोड्दा आम नागरिकको जनजीवन नै प्रभावित बनिरहेको छ । २७ करोडमा ठेक्का लिएको कम्पनीले ०७५ असोज महिनादेखि काम थालेको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको कम्पनीसँग अब काम सक्न ६९ दिन बाँकी छ ।





