काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको आजबाट थुनछेक बहस सुरु हुँदैछ ।
बन्द इजलासमा थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनको थुनछेक बयान न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भएको थियो । संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो । सो दिन समय अभाव भएपछि आइतबारबाट थुनछेक बहस हुन लागेको हो । थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ ।
प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजायँ मागदावीसहित जिल्ला अदालतमा महराविरुद्ध मुद्दा दायर गरेको थियो । महराले भने बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि ती महिलासँग टेलिफोन सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ । ती महिला कर्मचारीको एक भिडियोमा महराले जबरजस्ती करणी प्रयास गरेको र नमानेपछि आफूमाथि कुटपिट गरेको बताएकी छन् । भिडियो सार्वजनिक भएलगत्तै सभामुख पदबाट राजीनामा दिएका महरालाई प्रहरीले १९ असोजमा पक्राउ गरेको थियो । तर, स्वास्थ्यको कारण देखाउँदै उनी नर्भिक अस्पतालमा भर्ना भएर बसेका छन् ।





