नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु फेला


१५ कार्तिक २०७६, शुक्रबार १४:४५ मा प्रकाशित

दिल्ली । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु फेला परेको छ ।

शुक्रबार बिहान शंकास्पद बस्तु फेला परेपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार बिहान करिब २ बजेतिर दिल्ली विमानस्थलमा शंकास्पद वस्तु फेला परेको सूचना प्राप्त भएको दिल्ली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विमानस्थलमा लगेजहरु ओसार्न प्रयोग हुने ट्रलीमा एउटा वेवारिसे झोला फेला परेको थियो ।

उक्त झोलामा बम भएको हुनसक्ने भन्दै प्रहरीको बम डिस्पोजल टोली विमानस्थलमा तैनाथ भएको थियो । कुकुरसहितको सुरक्षाकर्मीको टोलीले जाँचका क्रममा झोलाभित्र विस्फोटक पदार्थ रहेको हुनसक्ने संकेत गरेको थियो । यद्यपि, प्रहरीले भने अहिलेसम्म उक्त झोलाभित्र विस्फोट पदार्थ नै रहेको भनेर पुष्टि गरिसकेको छैन ।

सुरक्षाकर्मीले झोला भेटिएको स्थानलाई घेरा हालेर राखेका छन् । विमानस्थलमा शंकास्पद वस्तु फेला परेको खबरपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरुमाझ सन्त्रास उत्पन्न भएको छ । विमानस्थलमा बम रहेको भन्ने खबर चलेपछि शुक्रबार बिहान यात्रुहरुको भागदौड नै मच्चिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here