स्पेन र अष्ट्रेलियामा व्यापारिक सम्बन्ध विस्तार गर्ने नेपाली राजदूतको जोड


१५ कार्तिक २०७६, शुक्रबार १३:३१ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल र स्पेनका लागि नेपाली राजदूत फूटी शेर्पाले नेपालका व्यवसायीहरुलाई भेटेर छलफल गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठलगायत पदाधिकारीसँग बिहीबार उनीहरुले चेम्बरकै सचिवालय जमलमा भेटबार्ता गरेका हुन् । भेटमा राजदूत फूजी शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् ।

अर्का राजदूत महेश दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्ययोजना बनाइ सहजीकरण गर्ने बताए । उनले नेपाल निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गर्न, द्धिपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्धिपक्षीय भ्रमणको आदान प्रदान गर्न आफूले जोड दिने बताउँदै नेपाल अष्ट्रेलिया बीच पर्यटन प्रबर्द्धन गर्न सिधा हवाई सेवाको मूर्तरुपमा कार्य गर्न सरोकारवालाहरुसँग छलफल गर्ने बताए । न्यूजिल्याण्डमा “एभरेष्ट डे” मनाई सगरमाथा चढ्नेहरुको शिखर सम्मेलन गरी पर्यटन प्रबर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, खल्का पेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्रयाउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबर्द्धन गर्न आर्थिक कुटनीति सक्रिय हुनुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here