काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता वुमन्स च्याम्पियन्स लीग क्रिकेटको उपाधिका लागि आज चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दैछन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली उपाधि कब्जा गर्ने उद्देश्यका साथ मैदान प्रवेश गर्नेछन् । राउण्ड रोबिन लिगका आधारमा भएको ५ टोली सहभागी प्रतियोगितामा चितवन सतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । काठमाडौंले भने विराटनगरसँग इलिमिनेटर खेलेको थियो ।
चितवन ईन्दु बर्माको नेतृत्वमा मैदान उत्रिँदा काठमाडौं रुबिना क्षेत्रीको कप्तानीमा हुनेछ । क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।





