कास्कीमा चुनावी सरगर्मी, कांग्रेस र नेकपाले सकेनन् उम्मेदवार छान्न


७ कार्तिक २०७६, बिहीबार १०:४८ मा प्रकाशित

कास्की । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ ।

चुनाव नजिकिएसँगै उम्मेदवार को बन्छ भन्ने विषयले पनि निकै चर्चा पाएको छ । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारको तय गर्न सकेका छैनन् । उम्मेदवार बन्न चाहने आकांक्षी धेरै जना भएपछि पार्टीका मातहतका कमिटीहरुलाई उम्मेदवारको नाम केन्द्रमा सिफरिस गर्नसमेत धौं धौं परेको छ । सत्तारुढ दल नेकपाले उक्त क्षेत्रमा उम्मेदवार तय गर्न सकेको छैन । पार्टीले तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएसँगै नेकपा कास्की अहिले आकांक्षीको नाममा सहमति जुटाउने कसरतमा रहेको छ । पूर्व सांसद स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नीलाई उम्मेदवार उठाउने विषयमा छलफल भएको भएपनि अन्य दुई जनाको पनि नाम केन्द्रमा सिफारिस गर्नुपर्ने भएपनि नेकपा कास्कीमा अन्योल देखिएको हो ।

नेकपाबाट सोमनाथ अधिकारी ‘प्यासी’, राजकाजी गुरुङ, तुलबहादुर गुरुङ, धनराज आचार्य, श्रीनाथ बराललगायतको चर्चा रहेको छ । त्यस्तै उपनिर्वाचनमा कांग्रेसका तर्फबाट १६ जना उम्मेदवार बन्न आकांक्षी देखिएपछि सबैको नाम कास्की कांग्रेसले केन्द्रीय समितिमा पठाएको छ । केन्द्रीय समितिले ३ जनाको नाम सिफारिस गर्न भनेपनि क्षेत्रीय समितिले ३ जनामा सहमति जुटाउन सकेन । जसका कारण १६ जनाकै नाम पठाइएको जिल्ला सभापति कृष्ण केसीले बताए ।

साझा पार्टीले भने उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकपछि बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने घोषणा गरिएको हो । कास्की निर्वाचन क्षेत्र नं २ यसअघि तत्कालिन नेकपा एमालेका नेता रवीन्द्र अधिकारी विजयी भएका थिए । संस्कृति, पर्यटन मन्त्रीसमेत रहेका अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here