सेवा सुविधा बढाउने सहमतिपछि आर्यघाटको विवाद मिल्‍यो


६ कार्तिक २०७६, बुधबार १४:०९ मा प्रकाशित

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीचको वार्तामा घाट सेवाका कर्मचारीहरूको सेवा सुविधा बढाउने सहमतिपछि पशुपति आर्यघाट सेवा केन्द्रको आन्दोलन फिर्ता भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउने लगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो । सेवा केन्द्रका कर्मचारीहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहानबाट शव दाह लगायतका सबै काम बन्द गर्ने घोषणा गरेका थिए । उनीहरुको आन्दोलनबाट शव दाह नै रोकिनसक्ने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको थियो ।

कोषका अनुसार घाट सेवाका कर्मचारीहरूको माग धेरै वर्षदेखि नबढेको पारिश्रमिक बढ्नुपर्ने भन्ने थियो । अब भने एउटा शव जलाएवापत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ पुर्‍याउने सहमति भएको पशुपति विकास कोषले जनाएको छ । यसका साथै अवकाश पाउँदा उपदानबापत पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ । यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here