पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले बेलुका ९ बजेपछि देउसी भैलो खेल्न तथा ध्वनि प्रदूषण हुने गरी गीत बजाउन प्रतिबन्ध लगाएको छ ।
तिहार विशेष सुरक्षा सतर्कताका लागि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालसहित सरोकारवालाहरूको छलफलपछि यस्तो निर्णय गरिएको हो । सर्वपक्षीय बैठकले नजिकिँदै गरेको दीपावलीलाई मर्यादित र व्यवस्थित तरिकाले मनाउन तथा शान्ति सुरक्षा र भैपरी आउने जोखिम न्यूनीकरण गर्नको लागि ९ बजेपछि देउसी भैलो खेलेको वा अरूलाई असर गर्ने गरी गीत बजाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने निर्णय गरेको छ । ‘नेपाली हिन्दुहरूको महान् पर्व दीपावलीको अवसरमा हुन सक्ने अवाञ्छित क्रियाकलापहरूको नियन्त्रणको लागि यो निर्णय गरेका हौँ ।’ प्रजिअ नेपालले भनिन्, ‘विशेष गरी बेलुकाको समयमा विभिन्न टोलीहरू देउसी भैलो खेल्ने र उनीहरूमध्ये कोहीले मादक पदार्थ समेत सेवन गर्न सक्ने भएकोले अमर्या्दित क्रियाकलाप समेत गर्न सक्ने भएकोले सबैलाई सुरक्षित गराउन ९ बजेसम्मको समय तोकिएको हो ।’
दीपावलीको उत्सव मनाउन पटका पड्काउन नपाइने भएकोले पटका पड्काएको, ओसारपसार गरेको वा बिक्री वितरण गरिरहेको पाएमा समेत कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पनि जिल्लामा पटका भित्रिन तथा बिक्री वितरण हुन नदिनको लागि प्रहरीले उच्च निगरानी गरिरहेको बताए । प्रहरी र प्रशासनले नागरिकको सुरक्षाको लागि बनाएका नियम वा निर्देशन उल्लघंन गरेको पाइएमा त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा चलाइने उनको भनाइ छ ।





