काठमाडौं । कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान, असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु जाने भएका छन् ।
प्रधानमन्त्री ओली नाम सम्मेलनमा भाग लिन यहि कार्तिक ७ गते बिहिबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कार्त्तिक ८ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १ सय २५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ । प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकर बैरागीसहित उच्च पदस्थ अधिकारी सहभगी हुदै छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले केहि उच्च स्तरीय भेटघाट समेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
आफ्नो स्वतन्त्र पहिचान, विचार र नीतिको अडान राखेर एकताबद्ध भएका मुलुकहरुले सन् १९६१ मा असंलग्नता आन्दोलन (नाम) सुरु गरेका हुन् । असंलग्न आन्दोलनले पंचशिलका अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सहअस्तित्व, एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान जनाउने गरेको छ ।





