कार्यकर्ता पक्राउको विरोधमा प्रतिरोध गर्ने विप्लवको चेतावनी


१ कार्तिक २०७६, शुक्रबार १३:३० मा प्रकाशित

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

सो पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै राप्ती ब्युरोको बैठक र राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट राति २ बजे आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्नु ‘सामाजिक फासीवादी’ कार्य भएको टिप्पणी गरेका छन् । ‘उक्त सामाजिक फासीवादी गिरफ्तारीको पार्टी घोर विरोध एवम् भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’

प्रतिबन्धित नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरु सविन, युवा संगठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेको स्वीकार गरेको छ ।

‘केपी सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिविरुद्ध दिन–प्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी एवं फासीवादी बन्दै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एवम् जनवादी शक्तिहरुमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको छ । हामी केपी सरकारको निरंकुश एवम् फासीवादी दमनका विरुद्ध जागरुक हुन र संघर्ष गर्न सबै मानवअधिकारकर्मी, कानुनविद्, बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुलाई विशेष अपिल गर्दछौं ।’

कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिको मूल्य रहेको पनि सो पार्टीले प्रष्ट पारेको छ । ‘जनताको मुक्ति एवं वैज्ञानिक समाजवाद–साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ता यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here