सत्य निरुपणको टुंगो गर्न ओली, प्रचण्ड–देउवाबीच छलफल हुँदै


३० आश्विन २०७६, बिहीबार १३:२४ मा प्रकाशित

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगमा नियुक्तिको टुंगो लगाउने तथा यीसँग सम्बन्धित कानुन निर्माणबारे नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल हुने भएको छ ।

बिहीबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा र कांग्रेसका शीर्ष तहका नेताहरूको सहभागिता हुने बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीमा नियुक्तिको विषयमा दलहरूबीच विवाद रहँदै आएको छ। कसलाई यी आयोगको पदाधिकारी नियुक्त गर्ने भनेर पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिको बैठक पनि पछिल्लो समय बाक्लो गरी बसिरहेको छ । नेकपाका अध्यक्ष प्रचण्डले पनि आज बैठक बस्ने कुरा बताएका छन् ।

चितवनमा दशैं, तिहार, छठको अवसरमा चितवनमा आयोजित कार्यक्रममा उनले आजै ४ बजे प्रधानमन्त्री, आफू र प्रतिपक्षी दलका नेता देउवाबीच विशेष बैठक बस्न लागेको बताए । यता कानुन निर्माणको तहमा पनि काम भइरहेको नेकपाका नेताले बताएका छन् । संसदको नयाँ अधिवेशनको सुरुमा नै यी आयोगसँग सम्बन्धित विधेयक पास गर्नेगरी तयारी भइरहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । त्यसका लागि प्रतिपक्षी दलका नेताहरूसँग पनि छलफल भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here