गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने


३० आश्विन २०७६, बिहीबार ११:११ मा प्रकाशित

काठमाडौं । गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ ।

भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ । बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो । कागजी प्रक्रियाबाट अब केहीबेरमा मतदान सुरु हुने एनआरएन नेताहरुले बताएका छन् ।

उपाध्यक्षका लागि उम्मेद्वारी दिएका नरेन्द्र भाटले सबैको सहमतिमा म्यानुअल प्रविधिबाट मतदानको तयारी भइरहेको जानकारी दिए । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका उम्मेदवार पन्तको प्रस्तावकमा राधिका गुरुङ र समर्थकमा डीबी क्षेत्री छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आचार्यको प्रस्तावकमा दिलबहादुर गुरुङ र समर्थकमा विश्व आदर्श पण्डित छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार चार जना निर्वाचित हुने उपाध्यक्ष पदमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा हिक्मतबहादुर थापा, किरणविक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, डा. बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र डा।केशव पौडेल छन् । एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ । महासचिवमा जानकी गुरुङ र डा। हेमराज शर्माको उम्मेदवारी परेको छ । गुरुङ आचार्य र थापा पन्त प्यानलका हुन् । २ जना निर्वाचित हुने सचिव पदमा ७ जनाको उम्मेदवारी परेको छ । जसमा दीपकप्रसाद ओली, सुष्मा लिम्बु, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा र विनय अधिकारी छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । जसमा आचार्य प्यानलबाट सोमनाथ सापकोटा, पन्त प्यानलबाट महेशकुमार श्रेष्ठले तथा स्वतन्त्र रुपमा सुदन थापाले उम्मेदवारी दिएका छन् । एक जना निर्वाचित हुने सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमको उम्मेदवारी परेको छ । महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु र संगीता मरहट्टाको उम्मेदवारी परेको छ । युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीको उम्मेदवारी परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here