काठमाडौं । पूर्व राष्ट्रपति रामवरण यादवले संविधान संशोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिए ।
काठमाडौंमा सुरु प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीकि दलहरूले संविधानमा भएको त्रुटि सच्याएर अघि बढ्नुपर्ने धारणा राखे । जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउदै सबैले अपनत्व महसुस गर्ने गरी संविधानमा भएका त्रुटिलाई सच्याउनुपर्नेमा उनले जोड दिए । संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा पनि जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले त्यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्याउनु पर्ने बताए ।
समाजसेवी भद्र कुमारी घलेले समग्र आदिवासी जनजातिको बारेमा नयाँ खोज अनुसन्धान आवश्यक रहेको भन्दै आफ्ना पुर्खाका बारेमा खोज अनुसन्धान गर्न युवा पुस्तालाई आग्रह गरे । सम्मेलन शनिबारसम्म चल्ने छ ।





