अन्तर्राष्ट्रिय झापाली समाजले दियो पत्रकार उपचार कोषलाई ५१ हजार


२४ आश्विन २०७६, शुक्रबार १५:०२ मा प्रकाशित

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

आज शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच समाजले कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेको हो । कमाईको केही अंश समाजसेवा र परोपकारी काममा खर्च गर्ने सोचका साथ पत्रकार उपचार कोषलाई सहयोग गरिएको समाजका अध्यक्ष दिनेशकुमार पोखरेलले बताए । अध्यक्ष पोखरेलले झापाली पत्रकारले दीगो सोचका साथ अघि बढाएको उपचार कोषको अभियानको सराहना समेत गरे ।

पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित महासंघद्धारा सञ्चालित अभियानमा सबैले सहयोग गरिदिन सो अवसरमा आह्वान समेत गरिएको छ । उक्त अवसरमा महासंघका पूर्व अध्यक्ष हुमागाईं, पत्रकार उमाकान्त खनालले अन्तर्राष्ट्रिय झापाली समाजलाई सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

कोषको ब्याजबाट घाइते तथा बिरामी पत्रकारलाई सहयोग प्रदान गर्न समेत थालिएको छ । कोषमा हाल ४० लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । पत्रकार महासंघको सदस्यता प्राप्त गरिसकेका एक सयभन्दा बढी पत्रकार समेत कोषको सदस्य भइसकेका छन् । कोषबाट सुविधा लिनका लागि महासंघका सदस्यले अनिवार्यरुपमा कोषको सदस्य बन्नुपर्ने कार्यविधिमा व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here