काठमाडौं । पाँच देशीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।
सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसंग खेल्न लागेको हो । ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोही लयलाई दोस्रो खेलमा समेत निरन्तरता दिन चाहन्छ । यस सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसंग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।
यसअघि नेदरल्यान्डसँग भएका ५ खेलमध्ये नेपालले ३ खेलमा पराजय बहोरेको छ भने एउटामा जीत निकालेको छ । एउटा खेल रद्ध भएको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।





