दाङमा कर्तव्य ज्यान उद्योग मुद्दाका फरार ३ अभियुक्त पक्राउ


१६ आश्विन २०७६, बिहीबार १०:५३ मा प्रकाशित

दाङ । दाङमा प्रहरीले कर्तव्य ज्यान उद्योग मुद्दाका फरार ३ जना अभियुक्त पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले तुलसीपुर–६ सुकौरा रोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तुलसीपुर–६ का २३ वर्षीय दिपेश केसी, गुल्मी कुस्मा गाउँपालिकाका-२ का २५ वर्षीय आकाश केसी र तुलसीपुर–५ का पवन वली रहेका छन् । उनीहरुविरुद्ध गत वर्ष २०७५ साल चैत १७ गते सल्यान रोड अरनिको खेलमैदान नजिक गणेश हमाललाई खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।

सुकौरा रोडमा उनीहरु लुकेर बसेको सूचनाका आधारमा प्रहरी हवल्दार देवबहादुर विकको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसैगरी पक्राउ परेका ३ जनालाई थप कानूनी प्रक्रियाका लागि दशैं बिदा सकिएलगत्तै जिल्ला अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ । त्यसैगरी लागु औषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रोल्पा माडी गाँउपालिका–४ बस्ने १८ वर्षीय शुनिल डिसीलाई पक्राउ गरेको हो । उनलाई ६ वटा पुरिया (प्लाष्टिकसहित २ ग्राम र धुलो पदार्थको मात्र तौल गर्दा १ ग्राम ७१० मिलिग्राम) ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद बिक्रम शाहले बताए ।

उनलाई घोराही उपमहानगरपालिका १४ मिलनचोक टोलमा लागु औषध ब्राउन सुगर विक्री वितरण गर्न हिँडेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here