शहीद टेक–मान प्रदेशस्तरीय फुटबलको फाइनलमा शिवसताक्षीले आयोजक सयपत्रीसँग खेल्ने


१५ आश्विन २०७६, बुधबार २०:०८ मा प्रकाशित

झापा । रिबाउन्ड बललाई गोलपोस्टको दिशा दिएर अग्रता लिएको शिवसताक्षी युवा समूहले झापाको अर्जुनधारा–१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल्ने भएको छ ।

बुधबार सम्पन्न अन्तिम सेमिफाइलन खेलमा सैनिक युथ क्लबलाई पराजित गरी शिवसताक्षी युवा क्लब फाइनलमा प्रवेश गरेको हो । शिवसताक्षीले सैनिकलाई २–१ गोलले पराजित गरेर फाइनलमा आयोजक सयपत्री युवा समूहसँग भेट पक्का गरेको छ । स्थानीय टेकमान रंगशालामा भएको खेलको ३७ औँ मिनेटमा शिवसताक्षीका मनिष योङहाङले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । फ्रिकिक प्रहारबाट रिबाउन्ड बललाई उनले गोलपोस्टमा दिशा दिएका हुन् ।

एकोहोरो दबाब सिर्जना गरेको शिवसताक्षीका लागि मनिषले नै खेलको ४३ औँ मिनेटमा दोस्रो गोल गरेर अग्रता दोब्बर बनाएका थिए । यसैबीच, सैनिकका लागि विनोद मेचेले ५५ औँ मिनेटमा सान्त्वना गोल गरे । व्यक्तिगत दुई गोल गरेका शिवसताक्षीका मनिष योङहाङ खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नेपाली कांग्रेस झापाका सभापति उद्दव थापाले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

शुक्रबार हुने फाइनल खेलमा शिवसताक्षीले आयोजक सयपत्रीसँग फाइनल खेल खेल्नेछ । विजेताले नगद ५० हजार, ट्रफी र उपविजेताले नगद ३० हजार पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here