सभामुख महराले दिए पदबाट राजीनामा


१४ आश्विन २०७६, मंगलवार १३:२६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

महराले आफू माथि लागेको दोषको छानविन प्रक्रिया नसकिएसम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेलगत्तै उनको राजीनामा आएको हो । महराले राजीनामा पत्रमा आफ्नो चरित्रमा गम्भीर आरोप लागेका कुराको सत्यतथ्य छानविन नहुन्जेलसम्मका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘हिजोदेखि विभिन्‍न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’, महराले उपसभामुखलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा भनिएको छ । महराले दिएको राजीनामा सभामुख या प्रतिनिधिसभा सदस्यबाट समेत हो भन्‍ने खुलाइएको छैन । सत्तारुढ नेकपाले भने उनले सभामुख र प्रतिनिधिसभा सदस्य दुवै पदबाट राजीनमा दिनुपर्ने निर्णय लिएको थियो ।

महरामाथि संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका हुन् । मंगलबारै बालुवाटारमा भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा पनि महरालाई पदबाट राजीनामा गर्न लगाउने निचोड निकालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here