सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न नेकपाले बोलायो आकस्मिक बैठक


१४ आश्विन २०७६, मंगलवार १२:०९ मा प्रकाशित

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ ।

नेकपाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रधानमन्त्री तथा नेकपाका अध्यक्षनिकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ । दुवैबीचको छलफल सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने बताइएको छ । पार्टी एकताको बाँकी काम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । संघीय संसद् प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत आइतबार साँझ आफूमाथि यौन दुर्व्यवहार गरेको महिला कर्मचारीले आरोप लगाएकी छन् । उनले विभिन्न संचार माध्यममा आफूमाथि सभामुखले कोठामै आएर बलात्कार गरेको आरोप लगाएकी हुन् ।

उक्त विषय सोमबार सार्वजनिक भएको हो । सभामुखले भने आफूलाई फसाइएको प्रष्टिकरण दिएका थिए । सभामुखको सचिवालयले पनि विज्ञप्ति जारी गर्दै राजनीतिक छवि बिगार्नका लागि विभिन्न समूह लागिपरेको आरोप लगाएको थियो । ओली र प्रचण्डले बालुवाटारमा सभामुखसँग राजीनामा माग्नेबारे छलफल भइरहेको बताइएको छ । त्यसपछि उक्त विषयबारे सचिवालय बैठकमा छलफल गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here