काठमाडौं । चिनियाँसहितका ह्याकर र चोरहरूले निशाना बनाउने क्रम बढेपछि एटिएम बुथमा सुरक्षा गार्ड अनिवार्य गरिएको छ।
नेपाल राष्ट्र बैंकले एटिएम बुथहरूमा सुरक्षा गार्ड २४ घण्टै राख्नुपर्ने नयाँ नियम ल्याएको हो । चिनियाँ ह्याकरहरूको समूहले बैंकिङ सिस्टमै हमला गरेर एटिएम बुथबाट ३ करोड ५० लाख रूपैयाँ भन्दा धेरै झिकेपछि राष्ट्र बैंकले कडा नियम ल्याएको हो । एटिएम बुथमा सुरक्षागार्ड अनिवार्य गरिएपछि बैंकहरूको खर्च बढ्ने भएको छ । खटाइने सुरक्षा गार्डले कुनै व्यक्ति या समूहले शंकास्पद गतिविधि गरेको देखेमा बैंक प्रशासन र प्रहरीलाई जानकारी गर्नेछन्।
सबैजसो बैंकले एटिएम बुथमा सिसी क्यामेरा राखेका हुन्छन् । तर तिनीहरूमा यसअघि सुरक्षागार्ड तैनाथ गरिएको हुन्नथियो । राष्ट्र बैंको यो नियमले अब एटिएम बुथमा बैंकहरूले अनिवार्य सुरक्षा गार्ड राख्नै पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकका अनुसार देशभरमा ३३०० भन्दा धेरै एटिएम बुथ छन् । यी एटिएम बुथ धेरैजसो बैंकसँगै जोडिएर राखिएको छ । तर केही ठाउँमा एटिएम लाउन्ज राखिएको छ भने धेरै ठाउँमा बैंक भन्दा अलग्गै पनि एउटा मात्रै एटिएम छन् ।





