अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह


८ आश्विन २०७६, बुधबार १४:०४ मा प्रकाशित

फ्रान्स । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले संयुक्त राज्य अमेरिका र इरानलाई वार्तामा बस्न आग्रह गरेका छन् ।

उनले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताएका हुन् । उनले भने–मलाई विश्वास छ आणविक सम्झौताका विषयमा अब अमेरिका र इरानले टेबलमा बसेर विवाद सुल्झाउनुपर्छ र यस सम्झौताका हस्ताक्षरकर्ता राष्ट्रहरुसँग बसेर छलफल गर्नुपर्छ । सन् २०१५ को आणविक सम्झौताको नामै लिएर उनले सो आग्रह गरेका थिए । विश्वका विभिन्न शक्तिराष्ट्रहरुले इरानसँग उक्त आणविक सम्झौता गरेका थिए । उक्त सम्झौताको हस्ताक्षरकर्ता रहेको अमेरिकाले भने उक्त सम्झौताबाट आफू अलग्गिएको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोले सो आग्रह गरेका हुन् । उनले इरानले आणविक उत्पादन र विकास भने नगरेको बताइएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोले इरानमाथि आणविक सम्झौताका विषयलाई लिएर दवाब मात्र दिँदा त्यसले क्षेत्रीय रुपमा तनावमात्र उत्पन्न गर्नेहुँदा यस विषयलाई वार्ताको माध्यमबाट समधान गर्नुपर्ने धारणा राखेका हुन् ।

साथै हालैमात्र साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा भएको हमलाको यमनको हुथी विद्रोहीले जिम्मेवारी लिएको भए पनि अमेरिकाले भने त्यस घटनामा इरानको हात रहेको आरोप लगाएको प्रसंग पनि आफ्नो सो सम्बोधनका क्रममा उल्लेख गरेका थिए । यस्तै कारणहरुले पनि पछिल्लो समयमा यस क्षेत्रमा द्वन्द्वको अवस्था सृजना भएको र यसले कुनै पनि देशलाई राम्रो नगर्ने उनले बताएका छन् । अनुमानका आधारमा गरिने यस्ता दोषारोपणहरुले समस्याको शान्तिपूर्ण समाधानलाई भन्दा पनि द्वन्द्व बढाउने कामलाई सघाउने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here