प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता बिना संसद अघि बढ्न नदिने प्रतिपक्षीको चेतावनी


३० बैशाख २०८३, बुधबार १५:११ मा प्रकाशित

नेकपा (एमाले) का सांसद गुरु बरालले सरकारको नीति तथा कार्यक्रमको मूल जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै उहाँको अनुपस्थितिमा संसदको कामकारबाही अगाडि बढ्न नदिने चेतावनी दिनुभएको छ । 


बुधवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बरालले नीति तथा कार्यक्रम कार्यकारिणीको तर्फबाट प्रधानमन्त्रीले नै प्रश्तुत र रक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।  उहाँले राष्ट्रपतिद्वारा प्रश्तुत नीति तथा कार्यक्रमका क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

सांसद बरालले प्रधानमन्त्रीको अनुपस्थितिमा अन्य मन्त्रीमार्फत जवाफ दिने वा छलफल अगाडि बढाउने कार्य गरिए प्रतिपक्षले त्यसको प्रतिवाद गर्ने स्पष्ट पार्नुभयो । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को साझा दस्तावेज भए पनि यसको नेतृत्वकर्ताको हैसियतले प्रधानमन्त्रीले नै संसदमा जवाफ दिनुपर्ने र यसबाट उहाँ उम्किन नमिल्ने उहाँको तर्क थियो ।

नीति तथा कार्यक्रममाथिको छलफललाई छोटो बनाएर कर्मकाण्डी प्रक्रियामा मात्र सीमित राख्न खोजिएको भन्दै सांसद बरालले सत्ता पक्षले विवेकभन्दा बलको प्रयोग गरिरहेको आरोप लगाउनु भयो । 

सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको प्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, उहाँले हाल मुलुकमा कुनै संकटकालीन अवस्था नरहेको अवस्थामा पनि अध्यादेश ल्याउनुलाई ‘बहुमतमा आधारित निरंकुशतावादी कार्यशैली’ को संज्ञा दिनुभयो । 


सांसद बरालले नेपाली सेनाको भूमिका र मर्यादाका विषयमा समेत टिप्पणी गर्नुभयो । सेना राष्ट्रको पहरेदार भएको उल्लेख गर्दै उहाँले सुकुम्बासी बस्ती खाली गराउने जस्ता कार्यमा सेनाको प्रयोग हुनु वा सेनाले सिधै पालिकाहरूलाई चिठ्ठी लेखेर विवरण माग्नु संवैधानिक र लोकतान्त्रिक अभ्यास विपरीत भएको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here