काठमाडौं । आज ४० औं सामाजिक सेवा दिवस “सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकासको अठोट” भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
सामाजिक सेवाका क्षेत्रमा कार्यरत एउटा संस्थालाई एक लाख राशीको तुलसी मेहर समाज सेवा पुरस्कार दिने गरी सामाजिक सेवा दिवस मनाइन लागिएको हो । गैरसरकारी संस्था र यसमा आबद्ध समाजसेवीहरूको मनोबल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न प्रत्येक वर्ष एउटा संस्था र सात समाजसेवीलाई पुरस्कार वितरण गरिँदै आइएको छ । पुरस्कृत संस्था र व्यक्तिको नाम सोमबार नै सार्वजनिक हुनेछ । महिला, बालबालिका तथा सामाज कल्याणमन्त्री थममाया थापाले समाज सेवामा लाग्नका लागि मन, बचन र कर्मको आवश्यकता पर्ने बताइन । समाज सेवामा लाग्न चाहने व्यक्तिलाई नयाँ संरचनामा कसरी समेट्ने भन्ने छलफल भइरहेको उनको भनाइ छ ।
असीभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मूल समारोहस्थलमा विकास प्रदर्शनी हुने उनले बताइन । दिवस मूल समारोहमा उपस्थित हुन करीब एक हजार ८०० पाहुनालाई निमन्त्रणा गरिएको छ । सामाजिक सेवा दिवस मुलुकभर मनाउन ३२० सामुदायिक रेडियोसमेतलाई परिचालन गरिएको उनले बताइन ।
२५ उत्कृष्ट लेख रचनासहितको सामाजिक विकास विशेषाङ्क विमोचन गर्ने कार्यक्रम छ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्दै सामाजिक सेवामा लाग्न सबैलाई आव्हान गरेका छन् ।





