काठमाडौँ । आज असोज कृष्णपक्षको अष्ठमी । थारु समुदायको मुख्य पर्व जितीयाको मुख्य दिन आज तराई–मधेशमा धुमधामका साथ यो पर्व मनाइँदैछ ।
विवाहित हिन्दू नारीले आफ्ना पति तथा सन्तानको दिर्घायूको कामना गरी यो पर्व मनाउने प्रचलन रहिआएको छ । जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाइन्छ । सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु हुने गर्छ । व्रतालु महिलाहरुले स्थानीय जलाशयमा गएर स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पुजा गर्ने गरिन्छ । पर्वको दोस्रो तथा मुख्य दिन अर्थात अष्टमी तिथिका दिन ब्रतधारी महिलाहरु २४ घण्टाको लामो निराहार उपवास बस्ने गर्दछन् ।
उपवासका दिन ब्रतधारी महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवन गर्ने तथा गीत भजन गाउने चलन पनि छ । यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरिन्छ । यो पर्व खासगरी तराईका थारु समुदायले महान पर्वको रुपमा मनाउँछन् । पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा च्युरा, दही तथा सखरको प्रसाद बनाई अर्ध दिएर पर्वको समापन गर्ने गरिन्छ ।





