विपद् व्यवस्थापनमा कुरिनटार एउटा ‘ब्राण्ड’ हो, उद्धारकर्ताको सम्मानले मात्र मनोबल बढ्छः आइजीपी अर्याल


४ बैशाख २०८३, शुक्रबार १०:५० मा प्रकाशित


सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई अब केवल ‘तयारी’ मा मात्र सिमित नराखी ‘तत्काल परिचालन’ को रणनीतिमा लैजाने घोषणा गर्नुभएको छ । 


कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । जोखिमयुक्त कार्यमा खटिने सशस्त्र प्रहरीका लागि सरकार र सङ्गठनले कल्याणकारी योजनाहरू थप गरेको जानकारी दिँदै आइजीपी अर्यालले गोताखोर र जोखिमयुक्त ड्युटीमा खटिने कर्मचारीको बीमा सुविधा वृद्धि गरिएको बताउनु भयो ।

उहाँकाअनुसार नेपाल सरकारको १० लाख र नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा थप २५ लाख गरी अब कुनै दुर्घटना भएमा पीडित परिवारले ३७ लाख रुपैयाँसम्म पाउने व्यवस्था सुनिश्चित गरिएको छ ।

यस्तै, उद्धारका क्रममा ज्यान गुमाउनेहरूलाई ‘विपद् शहीद’ घोषणा गर्न सरकारसमक्ष प्रश्ताव पठाइएको र त्यसमा सरकार सकारात्मक रहेको उहाँले बताउनु भयो । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन इकाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो पहिचान बनाएको उल्लेख गर्दै अर्यालले ‘कुरिनटार’ र ‘गोताखोर’ शब्द एकअर्काको पर्यायवाची जस्तै बनेको बताउनु भयो ।

आफ्नो ज्यान जोखिममा पारेर अरूको ज्यान बचाउने उद्धारकर्ताहरूलाई समाज र जनप्रतिनिधिले सम्मान गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । शव निकाल्नका लागि अर्को जीवित सासलाई जोखिममा पार्नुअघि समाजले पनि धैर्यता र सचेतना देखाउनुपर्ने उहाँको भनाइ छ । 

विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जल तथा मौसम विज्ञान विभागसँग सहकार्य भइरहेको र देशभर ५९ वटा अस्थायी विपद् व्यवस्थापन बेसहरू सञ्चालनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । यस्तै, प्रत्येक वडाबाट २५ जनाका दरले १ लाख ६७ हजार ‘विपद् सूचक’हरूको दर्ता गरिएको र स्थानीय तहसँगको सहकार्यमा १८ दिने ‘डिजास्टर भोलेन्टियर’ तालिम सञ्चालन गरी समुदाय स्तरमै नागरिकलाई ‘फस्र्ट रेस्पोन्डर’ बनाउने अभियान शुरु गरिएको उहाँले बताउनु भयो ।  


पृथ्वी राजमार्गको नौबिसेदेखि मुग्लिङसम्मको खण्डमा ‘रोड सेफ्टी काउन्सिल’मार्फत नयाँ प्रोजेक्ट शुरु गर्न लागिएको पनि आइजीपी अर्यालले जानकारी दिनुभयो । यस अन्तर्गत राजमार्ग आसपासका कम्युनिटी हस्पिटल र एम्बुलेन्सहरूलाई एकीकृत गरी दुर्घटना हुनासाथ तत्काल उद्धार गरी उपचारका लागि पु¥याउने व्यवस्था मिलाइनेछ । विक्रम संवत २०६३ सालदेखि हालसम्म सशस्त्र प्रहरीले ३६ हजारभन्दा बढी विपद्का घटनामा खटिएर १५ हजारभन्दा बढीको सकुशल उद्धार गरिसकेको बताउँदै अर्यालले सानो गल्तीले पनि ज्यान जानसक्ने भएकाले पूर्ण अनुशासित भएर कार्यक्षेत्रमा खटिन सकल दर्जाका प्रहरीलाई निर्देशन समेत दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here