पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकतावद्ध भएर अघि बढन एमाले नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा भूमिगत महिला नामक पुस्तकबारे आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिता, स्वतन्त्र र लोकतन्त्रमाथिनै प्रश्न उठने अवस्था आएकाले त्यसलाई जोगाउनका लागि पनि सिंगो एमाले पंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने अवस्था आएको तर्क गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले अनुभव नभएका नयाँ पार्टीहरुको उदयले मुलुकमाथि थुप्रै प्रश्नहरु खडा भएकाले पनि त्यसलाई जोगाउनका लागि एमाले नेता, कार्यकर्ताहरुले सक्रियतापूर्वक देश र जनताको पक्षमा गम्भिरतापूर्वक काम गर्नुपर्ने बेला आएको बताउनु भयो ।
मुलुकमा प्राप्त मौलिक हक, स्वतन्त्रता, लोकतन्त्र नै के हुने हो ? भन्ने प्रश्न उठन थालेकाले त्यो संकटबाट देशलाई जोगाउन एमाले पंक्ति सक्रियतापूर्वक अघि बढ्नुपर्ने बेला आएको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।
पूर्वराष्ट्रपति भण्डारीले विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनले पुराना राजनीतिक दलहरुलाई सोचनीय भएर सावधानीपूर्वक आफ्ना गतिविधि अघि बढाउनुपर्ने अवस्थामा पु¥याएको समेत बताउनु भयो ।






