काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई पुरानो राजनीतिक संस्कार त्याग्न र गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ ।
सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूको मुख्य काम कानुन निर्माण गर्नु रहेको भन्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराउनुभएको हो । पुराना राजनीतिक दलहरूले जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको हविगत पनि उनीहरूको भन्दा नराम्रो हुने चेतावनी उहाँले दिनुभयो ।
देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको भन्दै उहाँले मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत सपनाको भारी यो समाजले नबोक्ने स्पष्ट पार्नुभयो । देशमा विचौलियाहरूको बिगबिगी रहेकोतर्फ सचेत गराउँदै उनले कुनै पनि विचौलियासँग साँठगाँठ गर्नु वा चिया खानुअघि आफ्नो छोरा गुमाएर संसदमा पुगेकी ‘शहीदकी आमा’लाई सम्झन सांसदहरूलाई आग्रह गर्नुभयो ।
जनताले पुराना दलहरूलाई ३६ वर्ष कुरे पनि रास्वपालाई ३६ महिना वा ३६ दिन पनि कुर्ने धैर्यता नभएको यथार्थलाई बुझ्न उहाँले आग्रह गर्नुभयो ।






