राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले अत्याधिक भरोसा गरेर अत्यन्तै बलियो वैधता दिएको बताउनु भयो । रास्वपाप्रति जनतामा अत्याधिक आशा रहेकोले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उहाँको भनाई छ । उहाँले जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको बताउनु भयो । त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेड दिएर पठाएको उहाँको भनाई छ ।
अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टिलाई नभएको उहाँले बताउनु भयो । उहाँले २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग तुलना गर्दा अहिलेको उपलब्धि ठूलो भएको बताउनु भयो । त्यसबेला विपी कोईराला नेतृत्वको नेपाली काँग्रेसले स्पष्ट दुईतिहाई बहुमत पाएपनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै पाएको उहाँको भनाई छ ।
हालैको निर्वाचनमा रास्वपाले करिव दुईतिहाइ सिटसहित ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको भन्दै उहाँले यसलाई अभूतपूर्व जनादेश भएको बताउनु भयो । उपसभापति वाग्लेले जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याउनु भयो । २०४८ सालमा नेपाली काँग्रेसको बहुमत सरकार आन्तरिक विवादका कारण पूरा कार्यकाल टिक्न नसकेको उहाँको भनाई छ ।
२०६४ सालमा माओवादी नेतृत्वको सरकार छोटो समयमै विघटन भएको र २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट बहुमत पनि दीर्घकालीन रूपमा टिक्न नसकेको उहाँले स्मरण गर्नुभयो । उहाँले यस्तो बलियो जनादेश नेपालमा अभूतपूर्व रहेको उल्लेख गर्दै यसलाई जोगाउन विगतका कमजोरीबाट सिक्दै स्थायित्व र सुशासनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नवनिर्वाचित सांसदहरुलाई जिम्मेवारका साथ प्रश्तुत हुन पनि सुझाव दिनुभयो । उहाँले पारदर्शी जीवनशैली अपनाउन, जथाभावी अभिव्यक्ति नदिन, जनताको गुनासालाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कानुन तथा नेपालको संविधानलाई गहिरोसंग अध्ययन गर्न पनि सांसदहरुलाई सुझाव दिनुभयो ।






