‘एन्फाले धेरै अत्याचार गरेपछि आन्दोलन ग¥यौंः ‘ए’ डिभिजन क्लव


२ चैत्र २०८२, सोमबार १७:०५ मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन क्लवले आफ्नो प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 


आगामी चैत १३ गते एन्फाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा एन्फा आन्तरिक द्वन्द्वका कारण समस्यामा परिरहेको छ । कहिले खेलाडी संघ र कहिले क्लवहरू एन्फाको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन् ।

नेपाल फुटबल खेलाडी संघ र क्लबहरू आगामी निर्वाचनमा मताधिकार प्रतिनिधि पनि हुन् । खेलाडी संघले खेलाडी कोष सञ्चालन र शीर्ष डिभिजन लिगको आयोजनालगायत एजेन्डासहित आन्दोलन गरेका थिए । क्लवहरूले सोमबार दुई चरणमा कार्यक्रम गर्दै एन्फाविरुद्ध आन्दोलन गरेका थिए । नेपाली फुटबल दिनानुदिन कमजोर बन्दै गएको उनीहरूको आरोप छ । एन्फाको कमजोर व्यवस्थापन र एकलौटी निर्णयले नेपाली फुटबलमा समस्या निम्तिएको एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको क्लवहरूले आरोप लगाएका छन् ।


लिग सञ्चालन सम्बन्धमा गत कात्तिक १७ गते एन्फा र ‘ए’ डिभिजन क्लबहरूबीच कार्यतालिकासहित भएको सहमति कार्यान्वयन हुनुपर्ने क्लवको माग छ । सहमतिअनुसार काम नगरी एकलौटी निर्णय हुँदा अन्योलता सिर्जना भएको उनीहरूको भनाइ छ । क्लवहरूले राष्ट्रिय लिग चलिरहेको अवस्थामा ट्रान्सफर विन्डो नखोली खेलाडीलाई अर्को क्लबमा अनुबन्ध गर्न नपाइने पनि क्लबको माग छ ।

उनीहरूले क्लब र खेलाडीबीच भएको सम्झौताअनुसार नै प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । विदेशी खेलाडी अनुवन्ध गर्दा श्रम स्विकृति लिन पर्याप्त समय आवश्यक पर्ने भएकाले एन्फाले एकद्वार प्रणालीमार्पmत सहज व्यवस्था गर्नुपर्ने क्लबले माग राखेका छन् । राष्ट्रिय लिगकै क्रममा श्रम स्वीकृतिका लागि आवश्यक सहजीकरण नहुँदा समस्या उत्पन्न भएको पनि क्लबहरूले बताएका छन् । 


प्रतियोगिता नियमावलीअनुसार शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहने उल्लेख छ । क्लवहरूले लिगको वैधता र कानुनी जटिलता नआउने गरी समयमै निर्णय गरेर १४ क्लवको सहभागिता सुनिश्चित गर्न एन्फालाई आग्रह गरेका छन् । फागुन २६ गते एन्फालाई बुझाएको ध्यानाकर्षण पत्रविपरीत क्लबहरूसँग छलफल नगरी एकलौटी रूपमा लिगको मिति तोकिएकोप्रति आपत्ति जनाएका छन् ।

यसअघि एन्फाले खेलाडीहरूले आन्दोलन गरेपछि राष्ट्रिय लिग लगत्तै शिर्ष डिभिजन लिग आयोजना गर्ने सहमति जनाएका थिए । तर त्यसमा आफूहरूको पनि सहमति लिनुपर्ने उनीहरूको भनाइ छ । राष्ट्रिय लिग समाप्त भएको ३० दिनपछि ‘ए’ डिभिजन लिगबारे प्रारम्भिक छलफल गर्ने सहमतिलाई कार्यान्वयन गर्नुपर्ने क्लवले बताएका छन् । 


क्लवहरूले लिगसँग सम्बन्धित प्राविधिक तथा आर्थिक पक्ष सुनिश्चित गरेर मात्र लिगको मिति तय गर्नुपर्ने माग राखेका छन् । क्लवहरूले आफ्ना मागहरू तत्काल कार्यान्वयन गर्न एन्फालाई आग्रह गर्दै आजकै मितिबाट शान्तिपूर्ण धर्ना कार्यक्रम शुरु गर्ने पनि घोषणा गरेका छन् । पत्रकार सम्मेलनपछि उनीहरू एन्फा कार्यालय पनि पुगेका थिए । उनीहरूले नेपाल प्रहरीले रोकेपछि केही समय विवाद पनि सिर्जना भएको थियो ।

जारी राष्ट्रिय लिग नखेलेको हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको क्लवका प्रतिनिधिले एन्फा गेटमा नारा लगाएका थिए । शेर्पाकै नेतृत्वको समूहले एन्फाको आगामी निर्वाचन रोक्न अदालतमा मुद्दा दायर गरेको थियो । तर अदालतले निर्वाचन गर्न स्वीकृति दिएपछि क्लबहरू थप आक्रोशित भएका छन् ।


मध्यपुर युथ एसोसिएसन अध्यक्ष उपेन्द्रमान सिंहले एन्फाको निर्वाचन तहगत रूपमा हुनुपर्ने र हाम्रो पालामा निर्वाचन फेस्टिबल जस्तो हुने गरेको स्मरण गरे । साथै उनले ६ महिनाअघि देखि जिल्ला जिल्ला घुम्ने र अहिलेका नेतृत्वमा भने कसरी एन्फा कब्जा गरौं भन्नेमा लागेको आरोप लगाएका छन् ।


फ्रेन्ड्स क्लव अध्यक्ष विश्वास विक्रम शाहले एन्फाले धेरै अत्याचार गरेपछि आन्दोलनमा उत्रनुपरेको बताए । ‘ए’ डिभिजन लिग खेल्न आफूहरू तयार रहे पनि आफूहरूसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ । यो पूरा नभए खेलाडीले जस्तै ताला लगाउने उनले चेतवानी दिए । क्लवहरूले फुटबलप्रेमीहरूलाई उक्त कार्यक्रममा सहभागी हुन क्लवले अपिल गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here