निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रेस काउन्सिल नेपालले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न पाउने जानकारी दिनुभएको हो । उहाँले ७९ सालको निर्वाचनमा प्रेस काउन्सिल र आयोगबीच केही तिक्तता भएपनि अहिले ०८२ सालमा राम्रो समन्वय रहेको बताउनु भयो ।
साथै, मतदान स्थलको ३ सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
पत्रकारहरु आफैँ आचारसंहिताको नमूना बनेर देखिनुपर्ने र त्यसले अरूलाई पनि अनुशासनको दायरामा ल्याउने उहाँको विश्वास छ ।






